विराटनगरकी निकिताको हत्या भएको माईती पक्षको आरोप
विराटनगर - १७ माइती भएको निकिता चौधरीको ससुराली पक्षबाट हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।
१९ महिना अगाडी इनरूवा -३ मा बस्ने नगेन्द्र भगतसँग विवाह भएको चौधरीको गत शनिवार मृत्यु भएको हो ।
मृतक चौधरीको पिता विष्णु चौधरीले शनिवार छोरीले आत्महत्या गरेको भनेर ससुराली पक्षले दावी गरेको भए पनि केही समय अगाडी सम्म फोनमा कुरा गरिरहेको छोरीले एकछिन पछी आत्महत्या गरेको दावीमा आफ्नो विश्वास नभएको बताएका हुन् ।
चौधरीले छोरी निकितालाई यस अघि पनि ज्वाँई भगतले कुटपिट गर्ने गरेको र छोरीको शरीरमा निलडाम पनि भएकोले ससुराली पक्षले हत्या गरेको बताएका हुन् ।
चौधरीले आत्महत्या गरेको भन्दै ससुराली पक्षले शनिवार राती चौधरीलाई विराट टिचिङ्ग अस्पताल पुर्याउदा अस्पतालले चौधरीलाई मृत घोषणा गरेको थियो । हाल चौधरीका श्रीमान् लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।