अनिरुद्धका छोरा तथा बोदेबर्साइन नगरपालिकाका मेयर आतेशसिंह यादवविरुद्ध मिति २०८० भदौ १३ गते बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठजनालाई १४ लाख ७१ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै मुद्दाको प्रतिवादी बनाइएको छ ।
नगरपालिकाबाट ०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रममा अनियमितता भएको ठहरसहित मुद्दा दायर भएको हो ।
जसमा नगरपालिकाका पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलको समेत संलग्नतामा उक्त परियोजनाको रकम हिनामिना भएको अभियोग लगाइएको छ ।
नगर प्रमुख आतेशकुमार सिंह, वडा नम्बर ४ का अध्यक्ष रामानन्द चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतलाई प्रतिवादी कायम गरिएको छ ।
माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष नीलमकुमारी शर्मालाई पनि सजाय माग दाबीसहित मुद्दा चलाइएको हो ।
उनीहरूसमेतले परियोजनाका लागि सम्झौता गरे पनि त्यस सम्झौताअनुसार काम नगरेको र झुटो बिल–भर्पाई लिई भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा मुद्दा दायर भएमा राष्ट्रसेवक स्वतः निलम्बन हुने व्यवस्था छ ।
उक्त दफाअनुसार कुनै पनि व्यक्तिलाई अख्तियारले नियन्त्रणमा लिएमा स्वतः निलम्बन हुन्छन् ।
मुद्दा किनारा नलागेसम्म उनीहरू निलम्बनमै रहने व्यवस्था ऐनमा छ ।